गजल अरवी मूलको शव्द हो । यसको व्युत्पत्तिमूलक अर्थ खोतल्दा तिनवटा शव्द समूहहरु देखिन्छ ग – गफ (वाणी), ज – जनाना (स्त्रि), अल – निकटता (संगै) । कुनै सुकुमारी या लावण्यवतीसंग गरिएको सुमधुर प्रेमालाप वा प्रणय चेतनाको हार्दिकता नै गजलको विम्व हो । अरवी भाषामा मृगलाई “गजाला” भनिन्छ, त्यसैले कुनै मृगनयनी, स्वप्नपरिप्रति प्रेमाशक्त भई लेखिने छन्दमय रसदार प्रणय – अनुरागयुक्त प्रेमपत्र नै गजल हो ।
काव्यशाष्त्रमा श्रृंगार रसलाई रसराज मानिन्छ । यसै श्रृंगार रसको केन्द्रियतामा गजल रहेको हुन्छ । गजलको परिभाषामा विविधता पाईएपनि प्राविधिक, विधानसम्मत, छन्दमय र गेयात्मक अनुभुतिको तरल रुपमा गजललाई सवैतिरवाट अंगिकार गरिन्छ । गजलको अर्थका सम्वन्धमा उत्तरप्रदेश हिन्दी संस्थान (लखनउ) द्धारा प्रकाशीत उर्दु – हिन्दी शव्दकोषको सप्तम संस्करण (ई. सं. १९८२) मा भनिएको छ – “गजल स्त्रिलिंगी शव्द हो र अरवी मूल भाषा हो । प्रेमिकासंगको वार्तालाप हो । उर्दू फारसी कविताको एक प्रकार हो । यसमा ५ – ११ शेरहरु हुन्छन् । सवै शेरहरु एउटै रदीफ र काफियामा हुन्छन् र प्रत्येक शेरको मजनु अलग्गै हुन्छ । पहिलो शेरलाई मत्ला भनिन्छ, जसका दुवै मिसराहरु सानुप्रास हुन्छन् र अन्तिम शेर मक्ता हुन्छ जसमा शायरले आफ्नो तखल्लुसपनि प्रयोग गर्दछ ।” नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठानद्धारा २०५८ जेठमा प्रकाशीत वृहद नेपाली शव्दकोष (तृतिय संस्करण) मा सोही शव्दकोषको अनुवाद मात्रै गरिएको छ । त्यसैगरि, द अक्सफोर्ड इंलीस डिक्सनरीका अनुसारः- “विशेषतः प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ ।”
गजल गेय विधा हो त्यसैले यसमा गेयात्मकता आवश्यक हुन्छ । गेयात्मकता भन्नुको अर्थ गाउन मिल्ने भन्ने हो, गाउनको लागी छन्दमा हुनु जरूरि हुन्छ यसर्थ, गजल छन्दवद्ध हुनुपर्छ । तर यसको मतलब गजल केवल गीतको परिभाषा अटाउंछ भन्ने होइन, न त यो कविता नै हो । यि दुवै भन्दा भिन्न गजल स्वतन्त्र विधा हो। उर्दु फारसी मुल भएकाले गजलका प्राविधीक शव्दावलीमा सोही भाषाको प्रयोग गरिएको पाइन्छ । छन्दलाइ उर्दुमा “वहर” भनिन्छ जुन गजलको प्रमुख अनिवार्यता हो । संस्कृत तथा नेपाली गद्य साहित्यमा गण र मात्रा मिलेर वन्ने लयलाइ नै छन्द मानिन्छ, गजलमा ति प्राविधीक शव्दहरूलाइ “रूक्न” र “अरकान” नामले चिनिन्छ । छन्द या वहर विनाको गजल पुर्ण वनेको मानिंदैन र यस्तो गजललाइ “गैर मुसलसल” गजल भनिन्छ । तर छन्दमा लेख्ने भन्दैमा गजल पुरै शाष्त्रीय नै हुन्छ भन्ने होइन, यद्यपी यसले कुनै लय भने समातेकै हुनुपर्छ । तसर्थ, गजल त्यो छन्दवद्ध, लालित्यपुर्ण र श्रुतिमधुर भाव तथा अनुभुतिको तरंग मिश्रीत श्रृंगारीक रस हो, जसमा रुप सौन्दर्यको वखान गरिएको हुन्छ वा प्रेम-प्रणयका अभिव्यक्तिहरुले भरिपुर्ण हुन्छन् ।
यद्यपी, आधुनिक गजलको विकाससंगै गजलको परिभाषा र क्षेत्रपनि व्यापक र विस्तृत वन्दै गइरहेको छ । यस्तो अवस्थामा मायाप्रेम या प्रणय-पिरतीमा मात्रै नअल्झेर गजलले राष्ट्रप्रेम, सामाजिक विकृति देखी लिएर समसामयिक व्यंग्य समेत कस्न भ्याएको छ । हरेक क्षेत्रलाइ सरसतापुर्वक समेट्न सकेकाले नै गजल अचेल साहित्याकाशमा निरन्तर चम्कंदै गइरहेको पाइन्छ । त्यसैले यि परिभाषाहरूलाइ अझै व्यापक अर्थमा प्रष्तुत गर्नु गजलका लागी अनिवार्य भइसकेको छ ।
ध्यान दिनुपर्ने कुराहरू
गजल लेख्नुअघी यसको मुलतत्व वुझ्नु जरूरि हुन्छ जसको लागि निम्न प्राविधीक शव्दावलीहरूवारे जानकारि हुनुपर्ने देखिन्छ ।
१) बहरः- गजलको छन्द वा लयलाई नै बहर (meter) भनिन्छ । गजल लेख्नुअघि वहरको ज्ञान हुनु अनिवार्य मानिन्छ तर, गजलको आधुनिक यात्रासंगै वहरको कडा फलामे अनुशाषनमा रहनुपर्ने नियम अलि खुकुलो हुंदै गएको छ । अचेल वहरको ज्ञानविना नै लेखिएका गजलहरूको वाढि नै आएको छ । यसले कतै गजललाइ नै वगाएर लाने त होइन भन्ने चिन्तापनि वरिष्ठ गजलकारहरूमा देखिन थालिसकेको छ । हुनत, गजलमा वहर नमिलेपनि त्यो गेयात्मक वन्न सक्छ, तर गजल लेख्नेहरूमा कमसेकम वहरको ज्ञान भएमा मात्रैपनि गजलले साहित्यका अन्य विधाभन्दा आफुलाइ सदा उच्च स्थानमा राखिराख्न सक्ने देखिन्छ ।
२) शेरः-
वेहोसी म हुदापनि तिमीसंगै रम्न पाए ।
मधुप यो अधरले अधर त्यो चुम्न पाए ।।
जिन्दगीको यात्रा गर्दा टाढिएर रहेपनि
सपनीमा संधै संधै तिमीसंगै घुम्न पाए ।।
गजलका प्रत्येक दुर्इ हरफलाई शेर (stanza) भनिन्छ । यो ३, ५, ७, ९, ११ जस्ता विजोर संख्यामा हुनुपर्छ भन्ने गजलको मान्यता रहेपनि आजकाल ४ शेरका गजलहरूपनि प्रशष्तै देख्न पाइन्छन् । गजलमा प्रत्येक दुइ (एक जोडी) हरफलाइ एक शेर भनिन्छ । यहां, माथीको उदाहरणमा दुइ शेर छन् ।
३) मत्लाः-
व्याख्या होईन परिवर्तन गरेर देखाउ ।
सिद्धान्त होईन प्रयोगमा ढालेर देखाउ ।।
गजलको केन्द्रिय भाव वोकेको पहिलो दुर्इ हरफलाई मत्ला भनिन्छ । मत्लाका दुबै हरफमा काफियाको प्रयोग अनिवार्य हुन्छ । यो गजलको मुख्य भागपनि हो । कतिपय शायरहरूले एउटै गजलमा एकभन्दा वढि मत्लापनि प्रयोग गरेको पाइन्छ । यस्तो अवस्थामा दोश्रो शेरमा आउने मत्लालाइ “मत्ला-ए-सानी” या “हुस्न-ए-मत्ला” भनिन्छ ।
४) मक्ताः-
अन्धकार औंसि रातमा, वांच्नु साह्रै गाह्रो भयो
‘सावन’को जिन्दगीमा, चांद वनि छाउंछु भन्थ्यौ ।।
गजलको अन्तिम दुर्इ हरफहरुमध्ये कुनै एकमा तखल्लुसको प्रयोग गरिएको छ भने ती दुर्इ हरफलाई मक्ता भनिन्छ ।
५) मिसराः-
कहां गयो पुर्खाहरूले आर्जेको त्यो भुमी,
पुर्व टिष्टा र पश्चिमको कांगडा खोज्नुछ ।।
मत्ला र मक्ता बीचका प्रत्येक दुर्इ हरफलाई मिसरा भनिन्छ । मिसराको दोस्रो हरफमा काफियाको अनिवार्य उपस्थिति रहन्छ । मिसराको पहिलो हरफलाई “मिसरा-ए-उला” भनिन्छ भने दोस्रो हरफलाई “मिसरा-ए-सानी” भनिन्छ । मिसराहरुले एउटै भाव वोकेको हुनुपर्छ भन्ने गजलको मान्यता रहंदैन, तर अलग अलग भाव वोकेका भन्दा एउटै भावको नियमितता हुनुपर्ने चलनले जरो गाडिसकेको छ, यसो गर्दा गजलले अरू गहन भाव वोक्न सक्नेपनि देखिएको छ । गजल लेख्दा मिसराको पहिलो हरफले भावको उठान र दोस्रो हरफले त्यसको समाधान गर्ने शैलीमा हुनुपर्दछ ।
६) काफियाः-
फुल सारें सुन्दर वगैचा वनाउने तर्खरमा ।
त्यहिं आफ्नो मनको भारी विसाउने तर्खरमा ।।
काफिया अरबी भाषाको पुलिंगी शब्द हो र यसको साहित्यिक अर्थ अनुप्रास, अन्त्यानुप्रास वा तुकबन्दीपुर्ण शब्द भन्ने हुन्छ । गजलमा यसले अन्त्यानुप्रास वा उपान्तअनुप्रासको भूमिका वहन गर्ने गर्छ । गजलका मिसराहरुको पछाडि र रदीफभन्दा अगाडि पटक पटक दोहोरिने अन्त्यानुप्रास भइ आउंदा यसले उपान्तअनुप्रासको कार्य गर्छ भने रदिफ प्रयोग नभई अन्तिममा रहँदा अन्त्यानुप्रासको कार्य गर्छ । गजलमा काफियाको निस्चित स्थान निर्धारण हुन्छ । यसको प्रयोग मत्ला (परिचयात्मक वा प्रतिनिधि वा उद्घाटित शेर) का सबै मिसरा (पंक्ति)मा अनिवार्य रुपमा प्रयोग हुन्छ भने अन्य शेरहरुका दोस्रादोस्रा मिसरामा यसको प्रयोग गरिन्छ । यसले गजलमा लयात्मकताको सिर्जना गर्नुका साथै गजलको विशिष्ट संरचना निर्माण गर्दछ । काफियाको साथमा जोडिएर आउने शव्दलाइ “हम काफिया” भनिन्छ । जस्तै :- माथी उदाहरणमा प्रयुक्त शव्दहरू “वनाउने” र “विसाउने” मा अन्त्यानुप्रास मिलेको छ । जहां “आउने” शव्दलाइ काफिया भनिन्छ भने “वन्” र “विस्” हम काफिया हुन्छ । यहां “तर्खरमा” रदीफ कहलिन्छ ।
७) रदीफः-
यहां दिनमै शाम हुन्छ ।
आंखा आंखामै काम हुन्छ ।।
रदिफ अरबी भाषाको स्त्रीलिंगी शब्द हो र यसको व्युत्पत्तिगत अर्थ ‘घोडा वा उँटको पछि बसेको व्यक्ति’ भन्ने हुन्छ । साहित्यिक सन्दर्भमा भन्दाचाहिँ काफियाको पछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूहलाई रदीफ भनिन्छ । गजललाई सांगीतिक बनाउन तथा स्मरणयोग्य बनाउन यसले महत्वपूर्ण भूमिका प्रदान गर्छ । रदीफ गजलको अनिवार्य तत्व होइन तर यसले गजललाइ शक्ति प्रदान गर्दछ । यदि रदीफविना नै गजल लेखियो भने त्यसलाइ ‘गैर मुरद्दफ’ गजल भनिन्छ रदीफ सहितको गजल मुरद्दफ गजल वन्दछ । रदीफले गजललाइ लयात्मक, गेयात्मक तथा दीर्घ प्रभावकारी बनाउन ठुलो भुमीका निर्वाह गर्दछ । कतिपय विद्वानले त रदिफलाई गजलको अचम्मको र आवश्यक तत्त्व मानेका छन् । माथी उदाहरणमा “हुन्छ” शव्द दुवै हरफमा दोहोरिएको छ, यसलाइ नै रदीफ भनिन्छ ।
८) तखल्लुसः-
एकैपटक भएपनि उनले हांसिदिदा खेरी
‘सावन’ लाग्यो जवानीलाई रंगाउने तर्खरमा ।।
अरबी भाषाको पुलिंगी शब्द तखल्लुसको अर्थ गजलकार वा शायरले गजलका अन्तिमका दुर्इ हरफहरु (शेर) मध्ये कुनै एकमा लेख्ने नाम वा उपनाम भन्ने हुन्छ । यसले गजल कसको हो वा कसले लेखेको हो भन्ने चिनाउन पनि सहयोग पुर्याउँछ । तखल्लुसको प्रयोग गजलकारले विभिन्न प्रकारले गरेको पाइन्छ । यसलाई प्रथम, द्वितीय तथा तृतीय पुरुषको रुपमा पनि प्रयोग गरिएको हुन्छ भने गजलकारले आफैँसंग कुराकानी गरेजसरी पनि यसलाई प्रयोग गर्छ । यो गजलको अनिवार्य तत्व नभइ श्रृंगारको साधनमात्रै हो । तखल्लुस प्रयोग गर्ने नाममा यसले गजलको भाव तथा सुन्दरतामाथी नै हस्तक्षेप गर्दछ भने त्यस्तो तखल्लुस नराख्दा नै राम्रो हुन्छ । माथी उदाहरणमा “सावन” तखल्लुस हो ।
तर यति शव्दहरूको ख्याल गरेरमात्रै पनि गजल पुर्ण वन्दैन । गजलका प्रमुख र अत्यन्तै आधारभुत प्राविधीक शव्दहरू मात्रै हुन् यि ।
गजलको इतिहास र नेपालीमा गजल विकास
वास्तवमा गजलको विकास सम्वन्धमा चर्चा गर्दा यसको उत्पत्ती र विकासवारे पनि खोतल्नुपर्ने हुन्छ । गजलको शुरुवात कहिले भयो एकिन नभएपनि एघारौं शताव्दीमा फारसवाट मशहुर शायर रोदकिले प्रारम्भ गरेको पाइन्छ । पछि दकिकी, वाहिदी, निजामी, वेडिल, फैजी, शेखशादी, अमीर खुसरो, कविर दास आदी गजलकारहरु लागीपरेका हुन् ।
उर्दू गजलका प्रवर्तक जनाव वलि औरंगावादी (१६३८ – १७०७ ई.) हुन् भने नेपाली प्रवर्तक युगकवि मोतिराम भट्ट (१६२३ – १६५३) मानिन्छन् । त्यसपछि शम्भु प्रसाद ढुंगेल, भिमनिधी तिवारी र उपेन्द्र वहादुर जिगरले नेपाली गजललाई विकासको गति दिने प्रयत्न गरेपनि वि. सं. १९६६ भन्दापछि कसैले चासो देखाएनन् । “विसको दशक”पछि भने ज्ञानुवाकर पौडेल, मनु व्राजाकी, वुंद राना, आदिका रचनाहरु देखापर्न थाले । गजललाई स्वतन्त्र काव्यविधा नमान्नेहरुका माझमा भारतका डा. जे. पी. गंगवार, डा. सरदार मुजावर, डा. रोहिताश्व अस्थाना तथा नेपालीमा मनु व्राजाकी, ललीजन रावल, घनश्याम न्यौपाने “परिश्रमी” जस्ता चिन्तक, समालोचक र शोधकर्ताहरुले स्वतन्त्र काव्यविधाका रुपमा प्रष्ट्याउने र स्थापीत गर्ने कार्य गरे । विगत जे-जस्तो भएपनि नेपाली गजलमा अहिले भेलवाढी नै उर्लेको पाईन्छ । गजलमै नयां नयां प्रयोगहरू भएका छन् । गजलमा नै आफ्नो श्रम, सिप र पसिना वगाउने त्यस्ता सर्जकहरूलाइ नेपाली गजल इतिहासले कालान्तरसम्म याद गरिनै रहनेछ । यद्यपी, नेपाली साहित्याकाशमा जति नै फस्टाएको भएपनि गजलले अझै प्रष्ट कार्यदिशा लिनसकेको पाईंदैन, हामी आशा गरौं एकदिन सर्जक, समालोचकहरुद्धारा यसको स्वरुप तथा कार्यदिशा अवश्यपनि प्रष्टिने नै छ ।
अन्तमा, नेपाली साहित्याकाशमा गजलकै पछिपछि यात्रा गर्दै गरेको अर्को साहित्यीक विधा हाइकु र गजलको संमिश्रण (Fusion) गरेर लेखिएको यो गजल प्रस्तुत गर्न चाहन्छु “हाइकु-गजल”को रूपमा । यसमा प्रत्येक हरफलाइ छुट्टाटुट्टै या स्वतन्त्र रूपमा हेर्दा हाइकु वन्दछ भने संयुक्तमा हेर्दा गजल । यो मेरो सानो प्रयासले कहिंकतै गजलको प्रचलीत मान्यतालाइ नाघ्न गए माफी चाहन्छु
-Via Internet
Post a Comment